कोरोनाका कारण बन्द भएका उद्योगमध्ये पूर्णरुपमा ५४ प्रतिशत उद्योग सञ्चालनमा
शेयर गर्नुहोस् >>
प्रतिकृया दिनुहोस
संबन्धित समाचार








काठमाडौं । गत असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी गरेको सर्वेक्षण प्रतिवेदनअनुुसार ५४ प्रतिशत उद्योग सञ्चालनमा आएका छन् । कोभिडपूर्वको तुलनामा गत असारमा ४ प्रतिशत मात्र उद्योग/व्यवसायहरु पूर्णरुपमा सञ्चालनमा रहेकोमा मंसिरमा बढेर करिब ५४ प्रतिशत पुगेको देखिएको केन्द्रीय बैंकले जनाएको छ । अझै पनि ९.१ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालनमा आउन सकेका छैनन् ।
सन् २०१९ को डिसेम्बरबाट सुरु भएको कोभिड—१९ महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ । नेपालले पनि महामारी रोकथामका लागि चैत ११ गतेदेखि बन्दाबन्दीलगायतका उपायहरु अवलम्बन गरेको थियो ।
कोडिभ–१९ का कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धि पनि न्यून रहन गयो । नेपाल सरकारले कोभिड—१९ नियन्त्रणका मापदण्डहरु खुकुलो बनाउँदै लगेका कारण व्यवसायहरु क्रमिकरुपमा सञ्चालनमा आउन थालेको प्रतिवेदनमा जनाइएको छ ।
बैंकले २०७७ जेठ २६ गतेदेखि असार १० गतेसम्म ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरुबाट तथ्यांक संकलन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दीपश्चात् औसतमा ६१.०३ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्णरुपमा सञ्चालनमा रहेको देखाएको थियो ।
व्यवसाय सञ्चालनसम्बन्धी पछिल्लो वस्तुस्थितिबारे अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७७ कात्तिक १३ देखि २०७७ मंसिर २४ सम्म पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो । पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ ।
यस सर्वेक्षणले ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्णरुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशत बाट ८७.५१ प्रतिशत पुगेको जनाइएको छ ।